टिकटकमा चर्चित मोडल मिस पवी निर्णायकमा छानिएकी छिन् । उनी अडियो/रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी हुुन् ।
सोमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो ।
स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यो अभियानमा जोडिएकी हुन् ।
सार्वजनिक योजनाअनुसार अडियो/रेडियो नाटक रोपे गुना फलमा आधारित टिकटक बनाउने उत्कृष्ट तीन जनाले आकर्षक नगद पुरस्कार पाउनेछन् ।
विशेषगरी जन्मेदेखि आठ वर्षसम्मका बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
टिकटक प्रतियोगितामा चर्चित टिकटकर मिस पवीले प्रचारप्रसार, प्रवर्द्धन तथा निर्णायक समूहमा रही सहयोग गर्ने छिन् । मिस पवी सुदूरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमूलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छिन् ।
रोपेगुना फल अडियो/रेडियो सुदूरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक भएकोले त्यस क्षेत्रको लोकप्रिय लवजमा टिकटकमार्फत धेरैभन्दा धेरै लक्षित स्रोता–दर्शकसम्म पुग्नका लागि उपयोगी हुने भएकोले टिकटक प्रतियोगिता आयोजना गरिएको एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन् ।
टिकटक प्रतियोगिता २०७९ माघ १५ गतेसम्म कायम गरिएको जनाइएको छ । डडेल्धुराकी मिस पबि पछिल्लो समय टिकटकमा युुवाहरुमाझ धेरै लोकप्रिय छिन् । हालसालै उनी अभिनित एक गीत सार्वजनिक भएको छ ।