चर्चित अभिनेता नाजिर हुसेनले राष्ट्रिय टोपी दिवसमा शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुुकबाट आइतबार सन्देश राख्दै शुुभकामना दिएका हुन् ।
उनले वर्ण र भाषाका आधारमा राष्ट्रियतामाथि गरिने शङ्काको उत्तर दिएका छन् । उनले भावुक सन्देश राख्दै लेखेका छन्, ‘म पनि यही माटोको हो। मेरो शरीरमा पनि र’गत नै हो बग्ने।’
उनले राष्ट्रिय टोपी दिवसमा ढाका टोपी लगाएको तस्बिर सहित आफ्नो वर्ण, भाषा अनि धर्मको आधारमा राष्ट्रप्रतिको प्रेममाथि शङ्का हुने गरेकोमा चित्त दुखाउँदै सामाजिक सञ्जालमा सन्देश राखेका हुन्।
‘मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्न भन्दै उनले धर्म, बस्ने भूगोल अनि देशप्रतिको मायाबारे शङ्का हुने गरेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘तपाई इन्डियन मुस्लिम कि नेपाली मुस्लिम ?, तपाई हिन्दु कि मुसलमान ?, ओहो, तपाई त तराईबाट आएको भए पनि नेपाली त स्पष्ट बोल्नु हुँदो रैछ!’
यस्ता प्रश्न सोध्दा फ्याट्ट उत्तर दिन मन लाग्छ भन्दै उनले लेखेका छन्’ हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा, मान्छे बन्न खोज्दै छु, मान्छे बन्न दिनुस्। सुन्नुस्, म पनि यही माटोको हो। मेरो शरीरमा पनि रग’त नै हो बग्ने।’
उनले अगाडि लेखेका छन्, ‘देशको कुरा आउँदा तपाईँलाई जति दुख्छ मलाई पनि त्यति नै दुख्छ। तपाईँलाई जति खुशी लाग्छ मलाई पनि त्यति नै खुसी लाग्छ।
हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने हाम्रो ढाका टोपी जस्तै सबैको सोच र विचार अग्लियोस् ! ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना।’