३७ वर्षीय फुटबलर क्रिष्टियानो रोनाल्डो साउदी अरेबिया पुुगेका छन् । उनी साउदी अरेबियाको अल नासर क्लबमा ३ बर्षका लागि ६० करोड डलरमा अनुबन्ध भएका छन् ।
एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो । पोर्चुगलका यी कप्तानका अनुसार उनलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट प्रस्ताव आएको थियो ।
‘म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ,’ मंगलबार क्लबको सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु । अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो ।’
अल नासरबाट रोनाल्डोले इतिहासमै सबैधन्दा धेरै पारिश्रमिक पाउनेछन् । सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उनले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन् ।
रोनाल्डोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका छन्, ‘कसैलाई थाहा छैन तर आज म भन्दैछु । मलाई युरोपमै धेरै अवसर थियो । ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलकै पनि धेरै क्लबहरुले प्रस्ताव गरेका थिए ।’
पाँचपल्ट बेलोन डी’ओर अवार्ड जितेका रोनाल्डोलाई तालीको गडगडाहटका साथ उनकै परिचित ‘सिउउ..’ सेलिब्रेसनद्वारा स्वागत गरिएको थियो । उनले क्लबकै एक अधिकारसँग सार्वजनिक बातचित गरे । पत्रकारहरुले प्रश्न गर्ने अवसर पाएनन् ।
‘मलाई थाहा छ यहाँको लिग प्रतिस्पर्धात्मक छ । मैले धेरै खेलहरु हेरेको छु । म आजदेखि खेल्नका लागि तयार छु । कहिले खेल्ने भनेर प्रशिक्षकको निर्णयमा भर पर्छ,’ रोनाल्डोले भने ।